Skip to main content
मध्यपश्चिम विश्वविद्यालय र एनरेनबीच अन्तरक्रिया तथा नेटवर्क उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न

मध्यपश्चिम विश्वविद्यालय र एनरेनबीच अन्तरक्रिया तथा नेटवर्क उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न

News

View Gallery
Loading...

“मध्यपश्चिम विश्वविद्यालय र एनरेनबीच अन्तरक्रिया तथा नेटवर्क उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न”

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति ई. डा. राजन सुवालज्यूको अध्यक्षतामा आज मिति २०८३ साल मंसिर ३ गते मध्यपश्चिम विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (एनरेन) बीच अन्तरक्रिया तथा नेटवर्क उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा उपकुलपति ई. डा. सुवालज्यूले अनुसन्धान तथा प्राज्ञिक कार्यमा एनरेनसँगको सहकार्य महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अनुसन्धानकर्ता तथा सम्बन्धित सबैलाई एडुरोमलगायत एनरेनका उपलब्ध सेवा तथा सुविधाहरू उपयोग गर्न सुझाव दिनुभएको थियो। साथै, विश्वविद्यालयसँग सहकार्य गरी आवश्यक सेवा तथा सुविधा उपलब्ध गराएकोमा एनरेनप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो।

त्यसैगरी, विश्वविद्यालयका रजिस्ट्रार डा. सुदीप ठकुरीज्यूले शैक्षिक क्षेत्रमा विश्वविद्यालय र एनरेनबीचको सहकार्य अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै जलवायु, वातावरणलगायत विभिन्न क्षेत्रमा रिसर्च नेटवर्क स्थापना तथा उपलब्ध स्रोतसाधनको उपयोगमार्फत अनुसन्धानका नयाँ सम्भावना पहिचान गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

अन्तरक्रियात्मक कार्यक्रममा एनरेनका कार्यकारी निर्देशक डा. राजन पराजुलीज्यूले संस्थाको परिचय, विश्वविद्यालयसँगको सहकार्य, हालसम्मका गतिविधि तथा उपलब्ध सेवा सुविधाका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो। प्रस्तुतीकरणका क्रममा एनरेनले सदस्य संस्थाहरूलाई उपलब्ध गराउँदै आएका सेवाहरूमा विश्वसनीय ग्लोबल रिसर्च तथा एजुकेसन नेटवर्क कनेक्सन, एडुरोम, हाई पर्फर्मेन्स कम्प्युटिङ, ई–रिसोर्सेस पहुँच, क्षमता अभिवृद्धि तालिम, क्लाउड रिरोर्सेज, जुम लाइसेन्स तथा सुरक्षित र इन्क्रिप्टेड रूपमा ठूला फाइल पठाउन सकिने फाइल सेन्डरलगायतका बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रमका अवसरमा विपद्का अवस्थामा प्रयोग गर्न सकिने सेल्फ-कन्भर्जिङ मेस नेटवर्कका लागि आवश्यक नेटवर्क उपकरणहरू तथा हावाको गुणस्तर मापन गर्ने उपकरण एनरेनका तर्फबाट विश्वविद्यालयलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रमलगत्तै हावाको गुणस्तर मापन गर्ने उपकरण विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा जडान गरी सञ्चालनमा ल्याइएको छ। उक्त उपकरणबाट मापन भइरहेको विश्वविद्यालय परिसरको वास्तविक समयको हावाको गुणस्तरको अवस्था https://hazemon.interlab.ait.ac.th/ मा गई ‘Mid-West University’ वा ‘NP-Mid-West University-421’ खोजी गरी हेर्न सकिनेछ।

कार्यक्रममा विभिन्न ग्र्याजुएट स्कुलका डीनज्यूहरू, निर्देशनालयका कार्यकारी निर्देशकज्यूहरू, कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ सङ्कायका विभागीय प्रमुख, संयोजक तथा प्राध्यापकहरू र केन्द्रीय कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो। एनरेनका तर्फबाट ई. निराजन पराजुलीको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीज्यूले गर्नुभएको थियो।