मध्यपश्चिम विश्वविद्यालयका ग्र्याजुएट स्कुलहरूको पुनर्संरचनासम्बन्धी अध्ययन प्रतिवेदन पेस
मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत सञ्चालित ग्र्याजुएट स्कुलहरूको संरचनालाई थप व्यवस्थित, प्रभावकारी तथा समयानुकूल बनाउने उद्देश्यले गठित पुनर्संरचना अध्ययन कार्यदलले अध्ययन प्रतिवेदन आज मिति २०८३ कात्तिक ११ गते विश्वविद्यालयका उपकुलपति ई. डा. राजन सुवालज्यू र रजिस्ट्रार डा. सुदीप ठकुरीज्यू समक्ष पेस गरेको छ।
पुनर्संरचना अध्ययन कार्यदलका संयोजक एवं ग्र्याजुएट स्कुल अफ ह्युमानिटिज एन्ड सोसल साइन्सेजका डीन सह–प्रा.डा. आनन्द प्रसाद सुवेदीज्यूको संयोजकत्वमा तयार गरिएको उक्त प्रतिवेदनमा विश्वविद्यालयअन्तर्गतका ग्र्याजुएट स्कुलहरूको विद्यमान संरचना, विभागीय व्यवस्थापन तथा शैक्षिक र प्रशासनिक कार्यप्रणालीको अध्ययन गरी आवश्यक सुधार र पुनर्संरचनासम्बन्धी राय–सुझाव तथा सिफारिसहरू समेटिएका छन्।
ग्र्याजुएट स्कुलहरूको पुनर्संरचनासम्बन्धी अध्ययनलाई अघि बढाउने क्रममा कार्यदलले विभिन्न ग्र्याजुएट स्कुलहरूमा छुट्टाछुट्टै बैठक तथा अन्तरक्रिया आयोजना गरी सम्बन्धित पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरूसँग छलफल गरेको थियो। प्रारम्भिक चरणमा ग्र्याजुएट स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी र ग्र्याजुएट स्कुल अफ ह्युमानिटिज एन्ड सोसल साइन्सेजमा बैठक सम्पन्न गरिएको थियो। त्यसपछि ग्र्याजुएट स्कुल अफ एजुकेसन, ग्र्याजुएट स्कुल अफ ल, ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्ट, ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्री, ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङ तथा मुसोममा समेत छलफल तथा अन्तरक्रिया गरिएको थियो।
अध्ययनका क्रममा सम्बन्धित ग्र्याजुएट स्कुलहरूको वर्तमान अवस्था, विद्यमान संरचनाका सबल पक्ष, सुधार गर्नुपर्ने क्षेत्र, विभागीय व्यवस्थापन, शैक्षिक तथा प्रशासनिक प्रभावकारिता र सम्भावित संरचनागत विकल्पबारे प्राप्त राय–सुझावलाई प्रतिवेदनमा समेटिएको छ। साथै, ग्र्याजुएट स्कुलहरूको संरचनालाई विश्वविद्यालयको समग्र शैक्षिक उद्देश्य, संस्थागत आवश्यकता तथा प्रभावकारी व्यवस्थापनसँग सामञ्जस्य कायम हुने गरी व्यवस्थित गर्न आवश्यक सुधार तथा पुनर्संरचनासम्बन्धी सिफारिसहरू प्रस्तुत गरिएका छन्।
कार्यदलले सम्बन्धित ग्र्याजुएट स्कुलका सरोकारवालासँगको छलफलबाट प्राप्त सुझाव तथा अध्ययनका निष्कर्षका आधारमा तयार पारेको प्रतिवेदन विश्वविद्यालयको नेतृत्वसमक्ष पेस गरेको हो। प्रतिवेदनमा समेटिएका सिफारिसहरूले ग्र्याजुएट स्कुलहरूको संरचनागत तथा व्यवस्थापकीय सुधार, विभागीय कार्यसम्पादनमा प्रभावकारिता र शैक्षिक एवं प्रशासनिक कार्यप्रणालीलाई थप सुदृढ बनाउन आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।