ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्री र भेरीगंगा नगरपालिकाबीच समझदारी
मध्यपश्चिम विश्वविद्यालय, ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्री र भेरीगंगा नगरपालिकाबीच किसान दर्ता प्रणालीमा किसानसम्बन्धी तथ्यांक संकलन तथा अद्यावधिक गर्न विद्यार्थी परिचालन गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय, ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्रीका डिन डा. करन सिंह धामी र भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालको उपस्थिति रहेको थियो।
समझदारीअनुसार कृषि अध्ययनरत विद्यार्थीलाई परिचालन गरी स्थानीय तहमा किसान दर्ता प्रणालीका लागि आवश्यक तथ्यांक संकलन तथा अद्यावधिक गरिनेछ। यसबाट किसान परिचयपत्र वितरणलाई प्रभावकारी बनाउन तथा किसानलाई कृषि सेवामा सहज पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस सहकार्यले स्थानीय तहमा कृषि क्षेत्रसम्बन्धी तथ्यांकलाई व्यवस्थित तथा डिजिटल बनाउनुका साथै तथ्यमा आधारित कृषि योजना निर्माण र सेवा प्रवाहमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, कृषि शिक्षा अध्ययनरत विद्यार्थीहरूले यससम्बन्धी व्यावहारिक ज्ञान हासिल गर्ने र डिजिटल कृषि शासनलाई स्थानीय स्तरमा थप प्रभावकारी बनाउन यो पहल महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।