विशेष आवश्यकता शिक्षा स्नातकहरूको रोजगारीका अवसर विस्तारबारे छलफल सम्पन्न
मिति २०८३ साल भाद्र ४ गते विशेष आवश्यकता शिक्षा कार्यक्रमका स्नातक विद्यार्थीहरूलाई लक्षित गरी रोजगारीको अवस्था तथा रोजगारीका अवसर विस्तार गर्ने सम्बन्धमा विश्वविद्यालय पदाधिकारी तथा दक्षिण कोरियास्थित लीडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेशनल कोअपरेशन (लुपिक) परियोजनाका अधिकारीबीच वीरेन्द्रनगर, सुर्खेतमा शिष्टाचार भेट तथा छलफल सम्पन्न भएको छ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सह-प्रा. ई. डा. राजन सुवालज्यूको प्रमुख आतिथ्यता तथा ग्र्याजुएट स्कुल अफ एजुकेशनका डीन सह-प्रा. डा. आनन्द प्रसाद सुवेदीज्यूको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। त्यस्तै, कार्यक्रममा रजिष्ट्रार सह-प्रा. डा. अर्जुनबहादुर अयडीज्यू र लुपिक परियोजनाका निर्देशक प्रा. डा. डाए योङ जङज्यू विशेष आतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
मध्यपश्चिम विश्वविद्यालय, ग्र्याजुएट स्कुल अफ एजुकेशनअन्तर्गत सञ्चालित विशेष आवश्यकता शिक्षा कार्यक्रम उत्तीर्ण विद्यार्थीहरूको रोजगारीको अवस्था तथा सम्भावित रोजगारीका अवसर विस्तार गर्ने सम्बन्धमा छलफल केन्द्रित रहेको थियो। साथै, आगामी दिनमा विश्वविद्यालय र लुपिक परियोजनाबीचको सहकार्य र सम्बन्ध विस्तार गर्ने विषयमा समेत गहन छलफल भएको थियो।
छलफल कार्यक्रममा डीन सह-प्रा. डा. पूर्णमान श्रेष्ठ, सह-प्रा. डा. दीपक राज अधिकारी र सह-प्रा. डा. करन सिंह धामी; कार्यकारी निर्देशकद्वय डा. विष्णुकुमार खड्का र डा. यदु प्रसाद ज्ञवाली; परीक्षा व्यवस्थापन प्रमुख डा. ज्ञान प्रसाद पौडेल; लुपिक परियोजनाका तर्फबाट नेपालस्थित परियोजना व्यवस्थापक किम यूनयोङ; विभागीय प्रमुख, प्राध्यापक, कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन उप-प्रा. भीमबहादुर रोकायाले गर्नुभएको थियो।
पदाधिकारीस्तरीय छलफल कार्यक्रमपूर्व भाद्र ३ गते विशेष आवश्यकता शिक्षा अध्ययनरत विद्यार्थी, प्राध्यापक र लुपिक परियोजनाका अधिकारीबीच लुपिक परियोजनाको अन्तिम मूल्याङ्कनका लागि विद्यार्थी छलफल कार्यक्रम सम्पन्न भएको थियो। लुपिक परियोजनाले मध्यपश्चिम विश्वविद्यालयमा सञ्चालित विशेष आवश्यकता शिक्षा कार्यक्रमको सञ्चालन तथा प्रवर्द्धनका लागि छात्रवृत्ति, सिकाइ आदान-प्रदान भ्रमण तथा प्राविधिक सहयोग गर्दै आएको छ।